Monday, June 18, 2012

विघटनले वास्तवमा जनजीवन सामान्य


  •  दयाराम श्रेष्ठ, लुभू
संविधान सभाको विघटनबाट आम नेपाली नागरिक बास्तवमा खुशी नै छन् । तर संविधान नबनेकोमा असन्तोष भने पक्कै भएको छ । यदि संविधान बनेको भए जस्तो सुकै अप्ठ्यारो परिस्थिति श्रृजना भएको भए पनि सम्हाल्न सकिने अवस्था हुन्थ्यो ।
संविधान सभाको विघटनवाट तत्कालै राजनीतिक रुपमा भन्दा पनि नेपाली जनताको जनजीवनमा सकारात्मक असर परेको देखिन्छ । लगातार रुपमा विभिन्न राजनीतिक, जातीय, क्षेत्रीय रुपमा जनताको हितको लागि भनिएका तर वास्तविक रुपमा जनबिरोधी हुने गरेका बन्द, हड्ताल र चक्काजाम जस्ता कार्यक्रमबाट आजित भएको अवस्थावाट अस्थायी रुपमा भएपनि विघटन पश्चात सो कार्य नभएर जनताले चैनको शास फेर्न पाइरहेका छन । जनजीवन सामान्य भएको छ । त्यस्तै राजनीतिक रुपमा जनता सँग निश्चित समय भित्र पुरा गर्छु भनेर प्रतिबद्धता गरेर जिम्मा लिएमा सो पुरा गर्छ भनेर आम जनताले विश्वास गरेका थिए । तर यो आत्मविश्वासमा तुषारापात गरेर झन सामूहिक रुपमा एका तर्फ निर्वाचित जनप्रतिनिधिलाई अनिर्णयको बन्दी बनाएर विभिन्न धारबाट श्रृजित अनि मूल धारका उच्च पदस्थ शक्ति हातमा लिएका केही राष्टिय तथा अन्तराष्टिय स्तरका नेताहरुको समूहले पनि अर्को तर्फ सो शक्तिको दुरुपयोग गरि सपना तहश गर्ने सबै पक्षको अवसानवाट मनोबैज्ञानिक रुपमा जनता खुशी छन् यद्यपि संविधान नबनेकोमा चिन्ता भएको भएपनि ती सबै प्रकारका शक्तिहरुको सामूहिक अवसानवाट खुशीको रेखा सर्वसाधारणको अनुहारमा बास्तविक रुपमा देखिएको छ ।
यदि संविधान बनेको भए पनि त कि त जनाजतिको कारणले, कि त क्षेत्रीयताको कारणले, कि त संघियताको विरोधिको कारणले कि त ब्राम्हण क्षेत्री, दशनामीलगायतको कारणले अशान्ति भई सामान्य जनजीवनमा असर पर्ने लक्षण नै देखिएको हो । यसमा एनेकपा (माओवादी), नेपाली काँग्रेश र नेकपा(एमाले)मा बिचारधारात्मक रुपमा देखिएको दुइ खेमा अनि मधेश केन्द्रीत दलहरुमा झन धेरै खेमा भएको विचारवाट नै स्पष्ट भइसकेको थियो । तर जनता भने संविधान घोषणा भएको भए यी झमेला भोग्न तयार भने नभएको होइन यदि सो भएको खण्डमा पनि मूल उद्देश्यको रुपमा रहेको संविधान बनेको कारणले अन्य शक्तिहरुले पनि काबुमा ल्याउन सक्ने परिस्थिति श्रृजना हुने थियो । तर यस्तो भइदिएन जसले गर्दा यी माथि भनिएका शक्तिशाली नेताहरु र दलहरुको कारणले गर्दा कसैले नसोचेको भिन्दै परिस्थिति श्रृजना भयो ।
समयले कोल्टो फेरिदैछ यस्तो परिस्थितिमा छ भन्दैमा कसैलाई समयले पर्खनेवाला छैन । आफ्नो जानकारीमा छैन भन्दैमा आफुले गरेका काम कारवाही बिशेष गरेर सामाजिक कार्य वा अन्य कुनै सार्वजनिक कार्यहरुको विश्लेषण सकारात्मक हो वा नकारात्मक हो भन्न वास्तवमा नै कठिन हुन्छ । त्यसैले राजनीतिक पार्टिहरुले गएको जनआन्दोलन यता गरेका सवै प्रकारका कार्यहरुको मूल्यांकन सवै पक्षवाट राष्ट्रिय अन्तराष्ट्रिय रुपमा गरिएको हुन्छ जुन सवैले सवैको जानकारी भएको हुंदैन । विशेष रुपमा भन्नुपर्दा हालै संविधान सभाको म्याद सकिन लाग्दा गरेका जतिपनि क्रियाकलापहरु राजनीतिक नेता, पार्टि र अन्य राष्ट्रिय व्यक्तित्वहरुले गरेका छन् त्यसको बारेमा सुक्ष्म, गहन र संवेदनशील रुपमा संवेदनशील निकायहरु लगायत अन्य नेपालको हित अहित चाहने सबै प्रकारका पक्षहरुले तीब्रताका साथ गरि राखेको छ । विद्यमान शक्ति सन्तुलन भत्कने अवस्था वा भत्किसकेको अवस्था र कुनै अग्रगामी शक्तिको उदय नभइ सकेको अवस्थामा सो स्थान प्राप्त गर्नलाई विविध क्रियाकलापहरु प्रत्यक्ष रुपमा सुस्त अप्रत्यक्ष रुपमा तीब्र रुपमा भइरहेको केही सीमित व्यक्ति वा समूहहरुलाई मात्र जानकारीमा छ । यस्तो अवस्थामा विद्यमान पूवृ शक्ति पुरानो बोटल फेर्ने र नयाँ बोटल बनाउनेहरु जो ज्यादै लोकप्रिय बन्न पुगेकाहरुले सचेत हुनु जरुरी छ कि तुरुन्त शक्ति सन्तुलन गर्न सकेन भने पर्खेर वस्नेवाला कोही छैन हो नयाँ शक्ति उदय हुन केही समय अवश्य लाग्छ तर कुनै अप्रत्याशीत विश्वका महाशक्तिहरुमध्ये कुनैको एक वा सामूहिक एवं अप्रत्यक्ष प्रयासवाट आकस्मिक शक्ति उदय हुन गएमा त्यो जस्तो देश र जनताको लागि दुर्भाग्य अरु कुनै हुन सक्तैन । जसले गर्दा नेपाली जनताले युगौं देखि अनुभव गर्न नपरेको दाशतालाइ नमज्जाले स्वीकार्न वाद्य गराउने सयन्त्रको तानाबाना बुनेको हुन्छ ।
यसकारण एकमात्र विकल्पको रुपमा देखिएको सूत्र भनेको नयाँ निर्वाचनको घोषणा गरेर जनप्रतिनिधि मार्फत संविधान बनाउने बाँकि कार्य पुरा गर्न र सत्ता सञ्चालन गर्नु अत्यन्त जरुरी भएको छ । त्यसैले धेरै नै पातलिएर तरल मात्र नभइ झोल नै भएको राजनीतिक अवस्था भएको यस समयमा सुझबुझ देखाउने शुभ अवसर पनि आएको छ । ढिला नगरिकन तुरुन्तै सर्वदलिय सर्वपक्षिय कार्यपालिकाको रुपमा देश सञ्चालन समिति गठन गरेर कस्ले नेतृत्व गर्ने भनि कुनै प्रकारको विवाद नगरिकन व्यक्ति, जाति, समूह, पार्टि र विचारको स्वार्थ नभनिकन नेपालको अस्तित्व रक्षा गर्न, नेपाली जनताको शान्ति सुव्यवस्था रक्षा गर्न र एकमात्र नेपाल राष्ट्रको स्वार्थको खातिर काम गर्न म व्यक्तिको भित्रै ह्ृदय देखि नै आव्ह्वान गर्दछु । लाग्छ यो आम नेपाली जनताको पनि आव्ह्वान हो ।

Friday, June 8, 2012

जहाँ नियम पुर्यानउन भ्रष्टाचार हुन्छ


बसन्त महर्जन


राज्य संयन्त्रले आर्थिक भ्रष्टाचारका घटनाहरू निर्मूल गर्न भनेर जतिसुकै आदर्शका कुराहरू गरे पनि र कारवाहीको तत्परता देखाए पनि उनैले बनाएका नीति निर्देशनहरू भ्रष्टाचारका लागि मलिलो ठाउँ बनेका छन्। ऐन तथा आर्थिक नीतिहरू नै भ्रष्टाचार गर्न सिकाउने र त्यसप्रति प्रेरित गर्ने माध्यम बनेका छन्। नियमले नदिंदा नदिंदै पनि भ्रष्टाचार गर्न पल्केकाहरू नियमसंगत नै भ्रष्टाचार गर्न पाए पछि कसरी छालान्? प्रश्न स्वाभाविक छ।

सामान्यतः नीति नियम भ्रष्टाचार रोक्न र सरकारी कामलाई व्यवस्थित गर्न बनेका हुन्छन्। तर नेपाल त्यस्तो मुलुक हो, जहाँ लेखा अधिकृतहरूले नीतिनिमय पालना गर्नकै लागि पनि भ्रष्टाचार गर्नुपर्छ। कागजमा हिसाब मिल्यो कि समस्या समाधान भएको ठान्ने प्रवृत्ति व्यापक बन्दै गएको छ। आवश्यक सामानको खरीद गरेवापत भुक्तानीका लागि बिल अनिवार्य पेश गर्नुपर्ने नियम छ। तर नेपालमा सबै ठाउँमा सामान खरिदपछि बिल दिने चलन छैन। यो कुरा लेखापाल तथा लेखा अधिकृतहरू सबैलाई थाहा भएकै कुरा हो। हिसाब मिलानका लागि त्यस्तो अवस्थामा लेखापाल वा लेखा अधिकृतहरू सम्बन्धित कर्मचारी वा कामदारलाई झन्झटमा फसाइदिने, दुःख दिने वा काममा ढिलाई गरिदिने गर्दछन्। यदि हेप्न नसक्ने वा आफ्नो मान्छे पर्योन भने कुने एउटा नक्कली बील बनाएर पेश गर्न उनीहरू आफै सल्लाह दिन्छन् र हिसाव मिलान भइहाल्छन्। काममा घटीबढीको हिसाव मिलाउने काइदा भनेकै नक्कली बील हुने गर्दछ। नक्कली बिल बनाउन सिकाउने नै भ्रष्टाचारको शिक्षा हो।

अध्ययन अनुसन्धान कार्य नीति निर्माणमा सहयोग पुर्यालउने उद्देश्य नभई अर्के कुराले प्रेरित भएर यस शिर्षकमा खर्च गर्ने प्रवृत्ति छ। अध्ययन अनुसन्धानमा आफ्नो संस्थाले यतिउति खर्च गरेको छ भनेर देखाउन पाउँदा सम्बन्धित अधिकारी आफू पनि अध्ययन अनुसन्धानको महत्व बुझ्ने र यस क्षेत्रमा 'योगदान' गरेका भन्ठान्छन्। काठमाडौं महानगरलगायत दुई उपमहानगर र देशभरका अरू नगरपालिका तथा गाविसहरू आफ्नो क्षेत्रभित्रको अध्ययन अनुसन्धान गराउने भनेर बजेट बनाउँछन्। अध्ययन अनुसन्धान गराउने नाममा बजेट खर्च गर्नेहरूमा संभवतः यी नगरपालिकाहरू अग्रपङ्तिमा पर्दछन्। यस्ता अनुसन्धान कार्यहरू अनुसन्धातालाई नभई राजनैतिक पार्टीका कार्यकर्ता र सोही निकायका कर्मचारी र उनका आफन्तकहाँ पुग्छ। अचम्म त के भने उनीहरू जुन विषयमा अनुसन्धान गर्ने भनेर पैसा लिन्छन्, त्यस पैसाले सम्बन्धित विषयका पुस्तकसम्म किन्दैनन्। किनीहाले पनि सही ढङ्गले प्रयोग हुँदैन।

अध्ययन अनुसन्धान पूर्व कार्यमा थप कार्य हो तर अचेल 'फेशन' जस्तै भएको छ। अनुसन्धानका नाममा हुने खर्च धेरै जसो 'पुनरावृत्ति', 'नक्कली' र 'चोरी' हुने गरेको छ। अध्ययन अनुसन्धानमा पुनरावृत्ति नहोस् भन्ने हेतुले प्रस्तावना लेखनमा नै पूर्वप्रयासको समीक्षा हुनुपर्छ, जुन ठ्याम्मै हुँदैन। यस अर्थमा ती अनुसन्धानका काम सुरुमै चिप्लिसकेका हुन्छन्। नगरपालिकाहरूले गरेका अध्ययन अनुसन्धानको नै 'अनुसन्धान' गर्ने हो भने निकै रमाइला घटना निस्कछन्। एउटै मन्दिर वा अन्य सम्पदाहरूको पटकपटक अनुसन्धान भइरहेको छ तर ती अघिल्लो अनुसन्धानको प्रतिलिपिभन्दा फरक हुँदैनन्। तर अघिल्ला अनुसन्धान रिपोर्ट पछिल्लो अनुसन्धानअघि नै त्यहाँबाट हराइसक्छ। यो पनि भ्रष्टाचार नै हो। यसअघिको भ्रष्टाचार अझ रोचक हुन्छन्। अनुसन्धान गर्नेले जसको नक्कल गरेका हुन्, उसलाई थाहू हुँदैन, जसले नक्कल गरेको हो उसले कसको नक्कल गर्दै छु भनेर। काठमाडौं महानगरले हनुमानढोका दरबार क्षेत्रका सम्पदाहरूको लगत तयार पार्न विभिन्न समयमा विभिन्न व्यक्तिलाई 'अवसर' दिएको छ। साधारणतः हनुसन्धान भनेका पुस्तकका रुपमा प्रकाशित गर्न र त्यसलाई सम्वन्धित विज्ञ वा साधारण पाठकलाई पढाउन हो। तर आफ्ना रिपोर्ट महानगरलगायत कसैले पनि गरेको पाइँदैन। प्रकाशनतिर ध्यान नदिएकै कारणले पनि एउटै अनुसन्धान पटकपटक हुने गरेका छन्। हनुमानढोका दरवार क्षेत्रको सम्पदाको लगत विवरणहरू प्रायसः मनबज्र बज्राचार्यद्वारा लिखित पुस्तक 'हनुमानढोका दरवार'बाट हुबहु सारिएका हुन्छन्। केही समयअघि यस लेखक समक्ष पनि हनुमानढोका दरवार क्षेत्रका सम्पदाहरूको लगत तयार पार्न भनेर एउटा प्रस्ताव आएको थियो। प्रस्ताव लिएर आउने व्यक्ति महानगर पालिकासम्वद्ध व्यक्ति त थिएनन् तर कर्मचारीसँग उसको घनिष्ट सम्वन्ध भने थियो। संयोजक, सल्लाहकार वा यस्तै कुनै पद सिर्जना गरेर त्यस अनुसन्धान कार्यमा प्रस्तावक व्यक्ति पनि संलग्न हुने रहेछन्। इतिहास, संस्कृति तथा पुरातत्व कुनै पनि विषयसँग सम्वद्ध नै भएका तर व्यक्तिगत चिनाजान र 'लटरपटर' जान्ने भएकै कारणले पनि त्यस्ता व्यक्तिहरू यस क्षेत्रमा संलग्न हुने गर्दछन्। तर त्यसका लागि बजेट सीमित मात्र रहेछ। हनुमानढोका दरवार क्षेत्रको अध्ययन अनुसन्धान त आवश्यक कुरा हो नै। यसका सम्वन्धमा जति पनि काम भएका छन् त्यो निकै थोरै मात्र हो। मनबज्र बज्राचार्यको अनुसन्धानमा नै पनि केही गल्ती रहेको पाइन्छ र थप अनुसन्धान गर्नु पर्दछ। तर विगतका अनुसन्धानहरू मनबज्रबाट अगाडि बढ्न नसकेको मात्र होइन कि एक पछि अर्को पुनरावृत्ति मात्र भइराखेको थियो। थप अनुसन्धान गर्न उक्त बजेट अपुग भएकोले स्वीकार्न सकिएन, संभवतः अरु नै कसैले सो काम पाएको छ।

अनुसन्धानका नाममा हुने गरेको भ्रष्टाचारको एउटा अर्को नमूना नेपाल पर्यटन बोर्डबाट लिन सकिन्छ। बोर्डले कीर्तिपुरको कला तथा सम्पदाहरूको विषयमा त्रिभुवन विश्वविद्यालयका एक आंशिक प्राध्यापकलाई अनुसन्धान गर्न लगाएको थियो। सो अनुसन्धान प्रतिवेदनमाथि नै अनुसन्धान गर्ने हो भने पनि भ्रष्टाचार ठम्याउन सकिन्छ। कीर्तिपुरका सम्वन्धमा विभिन्न पक्षमा अध्ययन अनुसन्धान भई दर्जनौ पुस्तकहरू र सयौं उत्कृष्ट अनुसन्धानात्मक लेखहरू प्रकाशित भइसकेको अवस्थामा नेपाल पर्यटन बोर्डले त्यस्तो निम्न स्तरको अनुसन्धान किन गर्न लगायो भन्ने प्रश्न उठ्छ। अरु त अरु त्यस अनुसन्धान रिपोर्टमा सन्दर्भ सामग्रीसम्म पनि सही ढङ्गले दिन सकेको छैन। सन्दर्भ सामग्रीमा उल्लेख भएको शुक्रसागर श्रेष्ठद्वारा लिखित पुस्तक ''कीर्तिपुरको साँस्कृतिक तथा पुरातात्विक अध्ययन'' को नकल मात्रै गरेर प्रतिवेदन तयार पारेको भएपनि केही काम देखिने थियो। रोचक कुरा त श्रेष्ठले सो पुस्तक जम्मा तीस हजारको धनबज्र विद्वत्वृत्तिमा तयार पारेका थिए भने उल्लेखित अनुसन्धान रिपोर्टका लागि नेपाल पर्यटन बोर्डले दुई लाख रुपैया खर्चेको थियो। कीर्तिपुरकै अनुसन्धानका सम्वन्धमा अर्को रोचक कुरा के रहेको छ भने, यही विषयवस्तुमा कीर्तिपुर नगरपालिकाले स्थानिय राजनीतिक कार्यकर्ताहरूलाई आजभोलि लगाइराखेका छन्।
सम्वन्धित ज्ञानको अभावमा पनि थुप्रै मात्रामा भ्रष्टाचार हुने गर्दछ। यस लेखको थालनीमा चर्चा गरिएका दुई घटनाबाट पनि यस कुराको पुष्टि हुन्छ। थालनीमा उल्लेख गरिएका दुई घटनामा दोषी वा कमजोरी लेखासम्वद्ध व्यक्तिमा देखियो तर अनुसन्धानकर्ताहरू मात्रै चोखा भन्ने होइन। अनुसन्धानकर्ताहरू मात्रै पनि कम भ्रष्टाचारी हुँदैनन्। नेपालमा इतिहास, संस्कृति जस्ता कुरामा लाग्नेहरू सच्चा, इमानदार र विद्वान हुन्छन् भन्ने छवी विद्यालयबाटै दिने गरिन्छ र यो छवी बनेको छ पनि। इतिहासकार बाबुराम आचार्यलगायत केही सच्चा व्यक्तित्वहरूको आदर्श देखाउन विद्यालयको पाठ्यक्रममा राखिएका जीवनीहरूकै प्रभावमा त्यो छवी बनेको हो। तर त्यही छवी ओढेर आर्थिक तथा नैतिक भ्रष्टाचार गर्नेहरू मौलाइरहेका छन्। ती भ्रष्टाचारीहरूको सूचीमा कोही विश्वविद्यालयका प्राध्यापक छन् त कोही राष्ट्रिय व्यक्तित्वका रुपमा चिनिएका छन्। कोही यस्तै निकायका ठूल्ठूला पदमा पुगी हाल अवकास पाइसकेका छन् त कोही बहालवाला नै पनि छन्। यी व्यक्तित्वहरूमाथि कमै मात्र शंका गरिन्छ। केही समयअघि यो पंक्तिकारले नेपाल तथा एशियाली अनुसन्धान केन्द्र (सिनास), त्रिभुवन विश्वविद्यालयबाट यस क्षेत्रमा नाम कहलिएका विभिन्न विद्वानहरूद्वारा सम्पन्न गराइएका अनुसन्धान कार्यहरूको रिपोर्ट हेर्ने अवसर पाएको थियो। सिनास कै पैसा खर्चेर गरिएका ती अनुसन्धानकार्यहरू सिनासकै स्वामित्वमा हुनु पर्ने हो तर ती अनुसन्धान रिपोर्ट अन्यत्र पनि बुझाएर ती संस्थाको लागि पनि अनुसन्धान गरेको भनेर दोहोरो पारिश्रमिक हात पारेको देखियो। सिनासको खर्चमा भएको अनुसन्धान अन्य अनुसन्धानकेन्द्रहरूको दराजमा पनि देखिनु र पुस्तककै रुपमा पनि प्रकाशित हुनुबाट यो कुरा खुल्दछ। सिनासमै पनि रिकर्डहरू चुस्तदुरुस्त नहुनाले ती अनुसन्धानहरू कुन सालमा गरिएको भन्ने खुल्दैन र विद्वानहरूले कताको रिपोर्ट कता बुझायो भन्न गार्हो। छ। कतिपय अनुसन्धानका रिपोर्टहरू हराएको पनि पाइन्छ। अनुसन्धान कार्यका रिपोर्टहरू हराउने घटनाहरू त्यहाँ कम रोचक पनि छैनन्। सिनासबाट अनुसन्धान कार्य सकाएर सोको रिपोर्ट बुझाइवरी पारिश्रमिक पनि लिएर पछि सो संस्थाको कर्मचारीको सहयोगमा सो रिपोर्ट गायव पारी उल्टो सिनासले रिपोर्ट नै हराइदियो भन्ने हल्ला फिजाउँदै हिड्ने इतिहासकार पनि छन्। तत्कालिन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको अनुसन्धान परियोजनाबाट निस्केका भनिएका पुस्तकहरूमध्ये कतिपय पुस्तकका केही भाग वा पूरै सिनासको आफ्नै अनुसन्धान कार्यका रुपमा दराजमा थन्किएर रहेका छन् भने कतिपय रिपोर्ट अन्यत्र होलान्।

इतिहास, संस्कृति तथा पुरातत्वसम्वन्धी अनुसन्धान गर्ने संस्थाहरूमा तत्कालिन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, पुरातत्व विभाग, नेपाल र एशियाली अनुसन्धान केन्द्र (सिनास, त्रिवि), विश्वविद्यालय अनुसन्धान आयोग, राष्ट्रिय जनजाति प्रतिष्ठान, नगरपालिकाहरू, तथा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरू छन्। यी अनुसन्धान केन्द्रहरूले गरेका कामहरूको मात्रै एक मुष्ट अनुसन्धान गर्ने हो भने पनि डुप्लिकेशन, ओभरल्यापिङ तथा फट्याईहरू प्रसस्त मात्रामा भेटाउन सकिन्छ। एक ठाउँबाट अनुसन्धान कार्य गरी पारिश्रमिक लिई अन्यत्र पनि बुझाएर दोहोरो पारिश्रमिक लिनेहरूको भएको ठाउँमा बौद्धिक इमानदारिताको कुरा गर्नुको अर्थ नै देखिन्न। एउटै अनुसन्धान कार्य एउटै संस्था अनेकौ पल्ट बुझाएको घटनामाथि काठमाडौं महानगर पालिकाको प्रसंगमा उल्लेख भएजस्तै त्रिभुवन विश्वविद्यालयमा एउटै व्यक्तिले एउटै अनुसन्धानकार्य दुई पल्ट बुझाएको घटना यस लेखकले फेला पारेको छ। विश्वविद्यालय अनुसन्धान आयोगको खर्चमा नेपालको एउटा ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको अनुसन्धान गरी नेपाली भाषामा तयार पारेको सो रिपोर्टलाई पछि विद्यावारिधीका लागि अंग्रेजी भाषामा तयार पारेर शोधग्रन्थका रुपमा एउटा भारतीय विश्वविद्यालयमा प्रस्तुत गरेका थिए। विद्यावारिधीको शोधग्रन्थलाई परिमार्जन गरी पुस्तकको रुपमा प्रकाशित भइसकेको त्यो रिपोर्ट वा ग्रन्थ मौलिक रुपमा तयार पार्न (अर्थात् नेपाली भाषामा तयार पारी विश्वविद्यालय अनुसन्धान आयोगमा बुझाएको) पहिलो पल्ट विश्वविद्यालय अनुसन्धान आयोगबाट पारिश्रमिक पाएको थियो भने भारतको विश्वविद्यालयबाट विद्यावारिधी गराउन पनि स्थायी शिक्षक भएका कारण विश्वविद्यालयले नै खर्च गर्नु परेको थियो।

इतिहास तथा संस्कृतिको अनुसन्धान गराउनेहरूमा सम्वन्धित विषयको ज्ञानको कमीले गर्दा विद्वान भनाउँदाहरूबाटै कतिसम्मको भ्रष्टाचार हुने गरेको छ भन्ने चर्चापछि सोही ज्ञानले भ्रष्टाचार कसरी रोक्न सकिन्छ भन्ने कुराको एउटा दृष्टान्त पनि नभएको होइन। केही समयअघि मात्रै एउटा अनुसन्धान केन्द्रमा अनुसन्धानका लागि प्रस्तावहरू सार्वजनिक आव्हान गरिएको थियो। एउटा प्रस्ताव पत्र त्रिभुवन विश्वविद्यालयमा प्रध्यापनरत् महिला शिक्षकको नाममा प्रस्तुत भएको थियो। रमाइलो कुरा त के हो भने उक्त प्रस्ताव पत्रमा गर्ने भनिएको अनुसन्धानको काम उनी आफैले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधीको शोधग्रन्थ तयार पार्ने क्रममा सम्पन्न गरिसकेको थियो। अप्रकाशित रुपमा रहेको शोधग्रन्थलाई फेरि अनुसन्धान कार्यको रुपमा प्रस्तुत गर्न लागिएको थियो। अनुसन्धान केन्द्रमा प्राप्त एउटा अर्को प्रस्ताव पत्र सोही व्यक्तिको छोराको नाममा थियो। रमाइलो कुरा त के रहेछ भने, छोराको नाममा आएको प्रस्तावपत्र उनी आफैले लेखेको त थिएनन् तर लोग्नेले लेखेको भन्ने कुरा प्रस्ताव पत्रमा प्रयुक्त भाषा शैलीबाट बुझियो। लोग्ने पनि त्रिभुवन विश्वविद्यालयअन्तर्गत कार्यरत् शिक्षक नै हुन्। यी जम्मै कुरा मूल्याङ्कन समितिका एक सदस्यले पत्ता लगाएको थियो। ती दुवै प्रस्ताव पत्र सुरुमै अस्वीकृत भएको थियो।

अनुसन्धानको प्रस्ताव पत्र अनुसार सम्वन्धित व्यक्तिले सो अनुसन्धान कार्य गर्न सक्छ कि सक्दैन भन्ने निर्क्यौल मूल्याङ्कन समितिले गर्ने हो। तर मूल्याङ्कन समितिमा सम्वन्धित ज्ञानको अभावमा पनि अनुसन्धान कार्य असम्बन्धित व्यक्तिको हातमा पर्न जाने गरेको घटना थुप्रै मात्रामा पाइन्छ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूमा संलग्न केही परामर्शदाताहरू पनि एक प्रकारले भ्रष्टाचार नै गर्दछन्। नेपालको इतिहास, संस्कृति तथा सम्पदाहरूका सम्वन्धमा परामर्श दिनु पर्योस भने तिनीहरू आफैले वा आफ्नो अनुसन्धान केन्द्रबाट तयार पारेको भनी जुन रिपोर्ट पेश गर्दछन् त्यो स्थानिय वा नेपाली भाषामा प्रकाशित लेखरचना वा पुस्तकका केही अंश हुने गर्दछन्। यो फट्याई गर्नेहरू ज्यादाजसो अवकाश प्राप्त प्राध्यापक, उच्च पदका पदाधिकारीहरू तथा अनुसन्धानकर्ताका रुपमा ख्याती कमाइसकेकाहरू हुने गर्दछन्। यो समस्यालाई नयाँ बन्ने संविधान र राज्यको संरचनाले कसरी सम्बोधन गर्छ, चुनौती र जिज्ञासाको विषय बनेको छ।

Monday, June 4, 2012

नेवार महिला कहिल्यै विधवा हुन्नन्

  • बसन्त महर्जन 

समाजमा श्रीमानको मुत्युपछि महिला विधवा हुन्छे र बाँकी जीवन आफ्नै सामाजिक मान्यताअनुसार बेग्लै प्रकारले बिताउनु पर्छ । विधवाको अवधारणाले हिन्दू महिलाहरु बढी प्रताडीत भएको मानिन्छ तर हिन्दू नै भए पनि नेवार महिला कहिल्यै पनि विधवा हुँदैनन्, जीवन पर्यन्त सौभाग्यवती नै हुन्छन् भन्ने मान्यता पनि रहेको पाइन्छ, त्यो पनि हिन्दू मूल्य र मान्यताकै धरातलमा । आफ्नो समाजमा बाल विवाहलाई भित्रिन नदिन अपनाइएको एक संस्कारको फलस्वरुप यो मान्यताको विकास भएको हो । यो संस्कार ‘इही’ हो । 
 
नेपाली र भारतीय समाजमा विधवा जीवनलाई अभिसापको रुपमा लिइने प्रवृत्ति छ । विधवाले विवाह गर्नु हुँदैन भन्ने लगायतका मान्यताहरुका कारण नेपाल र भारतका लाखौं महिलाहरु अपहेलित, हीन मानसिकता, विकृत मनस्थितिबाट गुज्रेर नारकीय जीवन व्यतीत गरिरहेका हुन्छन् । विधवाजस्तो प्रचलन नारीमाथिको शोषणको रुपमा लिई विधवा विवाहलाई प्रोत्साहन दिनु पर्ने कुरामा जोड दिइन्छ । तर महिलाहरु कहिल्यै विधवा हुँदैनन् भन्ने मान्यता राख्ने नेवार समाजमा विधवा शब्दका लागि आफ्नो भाषामा शब्द पनि छैन । त्यसैले होला, इही संस्कारको प्रसंगमा स्वयम्भूलाल श्रेष्ठ यसलाई प्रगतिशील पाइला भनी प्रशंसा गर्छन् । इहीको प्रशंसा गर्दै उनी अनेकौं ऐन कानून बनाइसक्दा पनि ‘विधवा’को मान्यतालाई नष्ट गर्ने कानून नबन्नु तर नेवार समाजमा भने यस्तो मान्यता नै नहुनुलाई जातीय गौरवको रुपमा लिन्छन् ।

विवाहको अर्थमा ‘इहिपा’ शब्द आजभोलि प्रयुक्त भए पनि पुराना शब्दकोषहरुमा ‘इही’लाई पनि विवाहको अर्थमा नै लिएको पाइन्छ । बालिकाहरुलाई चारदेखि सात आठ वर्षको उमेरमा इही संस्कार सम्पन्न गरिएको हुन्छ । यो मूलतः बेलसँगको विवाह भएको मानिन्छ, जुन हिन्दू धर्मका भगवान विष्णुको प्रतीक हो । यही कारणले गर्दा नेवार महिलाको विवाह भगवान विष्णुसंग भइसकेकोले ऊ कहिल्यै विधवा हुँन्न भन्ने धारणा रहेको छ । भगवान विष्णु अमर हुन्छन् भन्ने मान्यता हिन्दूहरुको मान्यताले पनि यसलाई बल दिएको छ । कथाअनुसार पार्वतीले कुनै पनि नेपाली विधवा हुनु नपर्ने वरदान माग्दा स्वयं महादेवले विष्णुको प्रतीक बेलसँग विवाह गरेमा मात्र पनि विधवा हुनु पर्दैन भनी उपाय बताएका थिए । तर इहीलाई नबुझ्नेहरु नेवार महिलालाई साँच्चैको विवाहका बेलामा पहिल्यै विवाह भइसकेकी र पुरुषलाई अर्काकी स्वास्नी भनी खिसी गर्ने गरेको पनि पाइन्छ । समाजमा महिलाप्रति आउन लागेको समस्यालाई कसरी चातुर्यतापूर्वक निराकरण गरियो भन्ने ज्ञानलाई ठ्याम्मै नबुझ्ने प्रवृत्ति पनि देखिन्छ ।

इहीको विषयमा सरदार इकवाल अलि शाह लेख्छन्– ‘‘अकस्मात् नेवार महिलाहरुको श्रीमानको मृत्यु भएको खण्डमा प्राथमिक विवाह बेलसँग हुनुको महत्व देखिन आउँछ । यसले ऊ विधवा भएको छैन र पुनः विवाह गर्न हुन्छ भन्ने सूत्र देखाउँछ । बच्चा बेलामा नै बेलसँग विवाह भएकोले आफू विधवा नभएको भनी दाबी गर्छन् । नेपालमा नेवार समुदायमा मात्रै यो मान्यता पाइन्छ ।’’

समाजमा बाल विवाहको समस्या चर्को विषय हो । केही ग्रन्थमा रजश्वला नै नभएकी बालिका कन्यादान दिनु पर्छ र यस्तो गर्नाले आमाबाबुलाई धर्मलाभ हुन्छ भनी लेखिएकै भरमा बालविवाहको प्रचलन आएको मानिन्छ । यो मान्यता रहेको समाजमा साँच्चै कुनै वर खोजेर कन्यादान गर्ने चलन चल्यो तर नेवार समुदायमा बालविवाहको विकल्पको रुपमा गजबको इही संस्कारको विकास गरियो । डिल्लीरमण रेग्मीकाअनुसार नेवार समाजमा बालविवाह प्रथा छैन । उनी आफ्नो पुस्तक ‘एन्सियन्ट नेपाल’मा लेख्छन्– ‘‘तर तिनीहरुले आफ्नो महिलाई दैविक वा स्थायी पत्नीत्वको सिद्धान्तअनुरुप जीवनभर विधवा हुनु नपर्ने गरी जोगाएको छ ।’’
इहीको प्रचलन कहिले सुरु भयो भन्ने त्यस्तो कुनै प्रामाणिक लेखोट पाइएको छैन । नेवारभित्रै गोपालीलगायत केही उपसमुदायमा यो प्रथा पाइँदैन पनि । किन पाइँदैन भन्ने खोजीको विषय हो । तर आजभोलि अन्य नेवारहरुको देखासिखीमा उनीहरु पनि आफ्ना छोरीहरुको इही गराउँछन् ।

नेवार समाजमा दाम्पत्य जीवनको लागि गरिने विवाहको आफ्नै महत्व हुँदाहुँदै पनि पारपाचुकेको सजिलो बाटो पनि सामाजिक मान्यताअनुरुप नै छ र यसकोे अधिकार महिला वर्गमा निहित छ । यसअनुसार महिलाले लोग्नेलाई सुपारी फिर्ता गरेकै भरमा पारपाचुके भएको मानिन्छ । विवाहको बेला लोग्नेबाट पाएको सुपारी सरह नै मान्यता हुने बजारबाट किनिएका दुई चार वटा सुपारी फिर्ता गरेर पारपाचुके गर्ने कार्य लोग्ने जीवित छँदै मात्र नभएर मृत्यु शैयामा पुगेको, शवयात्रामा वा चितामा जल्दै गरेको अवस्थामा समेत संभव हुन्छ र यति भएपछि जुठो बार्नु पर्दैन । इहीकै आधारमा महिला एकल जीवन बिताउने वा अर्कोसँग विवाह गर्ने भन्ने पूर्ण स्वतन्त्र रहेको हुन्छ भन्ने साँस्कृतिक मान्यता रहेको छ ।

तर नेवार समाजमा आफ्नो मूल्य र मान्यताहरु बिर्सने बढ्दो क्रममा आजभोलि विधवाको मान्यता पाउन थालेको छ । महिलाहरु ‘आफू विधवा हुँ’ भनी श्वेतवस्त्र धारण गर्छन् र गैर नेवार सरह पुनः विवाह नगरी एकल, एकांकी र अपहेलित जीवन बिताउँ छन् । तर यसलाई नेवार समाजमा वाह्य प्रभावको रुपमा लिन सकिन्छ । परम्पराको नाउँमा इही त आजभोलि पनि अनिवार्य रुपमा गर्छ्न् तर अन्य समाजको देखासिखी वा प्रभावमा परेर विधवाको मान्यतालाई पनि हुल्न दिएको छ । अथवा यसरी पनि भन्न सकिन्छ– नयाँ पुस्तालाई इहीभित्रको गूढ रहस्य अचम्मको कुरा हुन थालेको छ । नेवार समाजभित्र हिन्दू र बौद्ध धर्मको प्रभाव पर्ने क्रममा आफ्ना मौलिकताहरु विर्सन थालियो वा अर्थ नबुझे पनि अवशेषको रुपमा निरन्तरता पाइरहेकै छ । सहज, सरल र आदिवासी जीवन शैलीको नेवार समाज बाह्य प्रभाव बढ्दै गएपछि बाल विवाह र विधवाको मान्यतालाई भित्रिन नदिन चलाकी पूर्वक पछि मात्रै इहीको प्रचलन चलाइएको देखिन्छ । 

नेवार समाजमा लैंगिक विभेदलाई बढावा दिने कुनै आधार ग्रन्थ छैन । यिनै कुराहरुको आधारमा नेवार समाजमा महिलाको स्थान पुरुषसमान नै रहेको देखिन्छ । तर विभिन्न अवसरमा देखिने गरेका केही असमानताको प्रश्नमा त्यस्तो भेदभाव देखिन थालेको सही हो तर त्यसलाई परम्पराको रुपमा लिइनु भने हुँदैन, त्यो त अन्य समाजको प्रभाव र विकृति हो । मौलिक मान्यता र संस्कृतिमाथि परेको बाह्य प्रभाव हट्ने हो भने लैंगीक समानताको जीवनशैली स्वतः पुनःस्थापित हुन्छ र यो अनिवार्य पनि हुन्छ ।
( साभार : हसना म्यागेजिन, वर्ष ६ अंक ४८, २०६८)



Sunday, June 3, 2012

के हो नेपाल सम्वत, को हुन् शंखधर साख्वाः


  • बसन्त महर्जन
नेपाल सम्वतको सुरुवात कसरी भयो भन्ने सन्दर्भमा एक प्रकारको तिलस्मी कथा पाइन्छ । बालुवा सुनमा परिणत भएको र त्यो सुनबाट शंखधरले देशवासीको ऋण तिरेर ऋणमुक्त पार्नुका साथै नेपालसम्वत स्थापना गरेको कथा रोचक त छ तर बौद्धिक एवं प्राज्ञिक बहसको विषयवस्तु होइन ।
बालुवा सुन हुने कथा वास्तवमा भाषावंशावलीमा उल्लेखित एउटा कथा हो । नेपालमा प्राप्त सबभन्दा पुरानो वंशावलीका रुपमा गोपालराजवंशावलीलाई लिइन्छ तर यसमा यो कथा पाइन्न । यो कथा भाषावंशावलीहरुमा आएको छ अर्थात नेपालसम्वत सुरु भएको आठ नौ सयवर्षपछि मात्रै बालुवा सुनमा परिणत हुने कथाको विकास भएको देखिन्छ । तर यही कथालाई नेपालसम्वतको इतिहास मान्नेहरु पनि नभएका होइनन् । कथामा वास्तवविकता नभएपनि नेपालसम्वत यथार्थ हो । यस अवस्थामा इतिहास अध्ययन गर्नु नितान्त आवश्यक हुन्छ । तर तत्कालिन समयावधीे इतिहासमा अन्धकार युगका रुपमा चित्रण गर्न सकिन्छ किनभने इतिहासका श्रोतहरु कमैमात्र प्राप्त छन् । पूर्ववर्ती इतिहास अध्ययनका लागि प्रसस्त श्रोतसामग्री प्राप्त हुनु तर यसै समयावधीका श्रोतसामग्रीहरु मात्रै नपाइनु अध्येताहरुका लागि रोचक र चुनौती हो । इतिहासमा नेपाल प्रारम्भदेखि नै गणतान्त्रिक भएको, प्रथम राजा वृषदेव (राजा मानदेवका जिजुवाजे) बाट राजतन्त्र सुरु भएको तथा त्यो राजतन्त्रलाई ध्वस्त गरी गणतन्त्रात्मक राज्यव्यवस्था स्थापनासँगै नेपाल सम्वतको पनि सुरुवात भएको भन्ने व्यहोराको एक लेख हसना म्यागेजिनमा तथा शाहवंशीय राजतन्त्रको पतनपश्चात गोरखापत्र दैनिकमा पुनः प्रकाशित भएको थियो । सोही लेखमा नेपालसम्वतको प्रसंगमा उल्लेखित कुराहरुलाई पुनः उद्घृत गर्दै यहाँ यस बारेमा चर्चा गरिन्छ ।
मानदेवपछिका राजाहरु प्रभावशाली थिएनन् । राजगद्दीमा लिच्छविराजा शिवदेव हुँदाहुँदै राज्यशक्तिमा अंशुवर्मा उदाउनु, द्वैध शासन चल्नु र महाराजधिराज नै हुनु यसको उदाहरण हो । अंशुवर्माले राज्यको उत्तराधिकारी रोलक्रमअनुसार नै शिवदेवका छोरा उदयदेवलाई नै अगाडि सारेपनि उनी लामो समयसम्म राजगद्दीमा बस्न सकेनन्, फलतः भागेर तिब्बत पुग्नु प¥यो । उनका छोरा नरेन्द्रदेवले तिब्बतको सहायताले नेपालमा पुनः राज्यसत्ता प्राप्त त गरे तर त्यसबापत नेपाललाई तिब्बतको प्रभावबाट मुक्त राख्न सकेनन् । नेपालका इतिहासकारहरुले अस्वीकार गरेपनि इतिहास अध्येता सिल्भा लेभीको कुनै बेला नेपाल तिब्बतको अधिनमा परेको’ भन्ने भनाईको पुष्टि हुन आउँछ । तिब्वतको प्रभावलाई लेभीले अधिनको रुपमा देखे, फरक यति हो । यिनै विद्वानकाअनुसार नेपाल तिब्बतबाट मुक्त भएको उपलक्ष्यमा नयाँ सम्वतको सुरु भएको हो । यो कुरालाई पनि नेपाली इतिहासकारहरु अस्वीकार गर्दछन् तर अध्ययन गर्दैजाँदा लेभीको भनाईसँग सहमत हुनुपर्ने देखिन आउँछ ।
तिब्बतका राजा श्रङ चङ गम्पोको सहायताले नेपालमा नरेन्द्रदेवले आफ्नो पुख्र्यौली राजगद्दी प्राप्त गरेका थिए । राजगद्दी हात परेपनि नरेन्द्रदेव निश्चिन्त थिएनन् । यसै भएर उनले आफ्नो समर्थन र सुृरक्षाका खातिर तिब्बती जनता र सेनालाई नेपालमा निर्वाध रुपमा हुल्न दिएका थिए । नेपाल पसेका सबै तिब्बतीलाई त्यति बेला काठमाडौं उपत्यकामा राख्नु संभव थिएन र भविष्यमा आफूमाथि खतरा आइपर्दाका लागि भनेर पनि हुनसक्छ काठमाडौं उपत्यका वरिपरि तिनीहरुलखाई बसाले । यो उपायबाट नरेन्द्रदेव र उनका उत्तराधिकारीहरुले केही समय निर्वाध रुपमा राज्यसत्ता संचालन गरेका थिए । तत्कालिन शक्ति केन्द्रहरुलाई संभवतः नेपालमा तिब्बती प्रभाव मन परेको थिएन । दिनपर दिन असन्तोष र मनमुटावले कलहको रुप लिंदै गयो । यस अवस्थामा राज्यसंचालनमा अस्थिरता आउनु स्वाभाविक हो र पूर्ववर्ती राजाहरुले जस्तो त्यति बेलाका राजाहरुले कुनै कीर्ति पनि राख्न सकेनन् । यस्तै बेलामा कुनै एक शक्ति केन्द्रका नेता वा व्यापारी राघवदेवको नेतृत्वमा सफल विद्रोह भयो र लिच्छविराजतन्त्रको पतन भयो । यस हिसावले नेपाली श्रोतहरुमा राघवदेवलाई राजाका रुपमा चिनाइए पनि उनी राजपरम्पराको उत्तराधिकारीका रुपमा सत्तामा आएका होइनन् भन्ने बुझिन्छ । राघवदेव सत्तामा आएपछि नेपाल तिब्बतीहरुको प्रभाववाट मुक्त भएको र उपत्यकामा नै रहेका तिब्बतीहरु पनि उपत्यकाको छेउछाउमा बस्न गएको देखिन्छ किनभने नेपालमा बस्न थालेको धेरै वर्ष भइसकेका कारण तिनीहरु आफ्नो देशमा फर्कने अवस्था थिएन । संभवतः यसैलाई लेभीले नेपाल तिब्बतबाट मुक्त भएको घटना भनेका हुन् । राघवदेवपछि पनि नेपालको इतिहास स्पष्ट छैन । तर वंशावलीकै आधारमा भन्न सकिन्छ, आफू सत्तामा आएपछि उनले एउटा नयाँ सम्वतको सुरुवात गरे ।
नेपालसम्वत् सुरु भएको ५०७ वर्षपछि लेखिएको र हालसम्म प्राप्त सबैभन्दा पुरानो गोपालराज वंशावलीमा सम्वत प्रचलनको मात्र कुरा छ । पछि लेखिएका अन्य वंशावलीहरूमा अन्य राजाहरूका साथै शंखधर साख्वाःले हात पारेको बालुवा सुनमा परिणत भएको कथा जोडिन पुग्छ । तर इतिहासकार बाबुराम आचार्य त्यस कथामा आधारित नेपालसम्वत्को इतिहासलाई अस्वीकार गर्दै नयाँ राजवंशको उत्थान भएको स्मारकस्वरूप नै राघवदेवले ‘पशुपतिभट्टारकसंवत्’ को नामले नयाँ राष्ट्रियसम्वत्को प्रचलन आरम्भ गरेको र यही सम्वत् नै अचेल नेपालसम्वत्को नामले प्रसिद्ध रहेको मान्यता राख्छन् । थालनीमा त्यस सम्वतको नाम दिइएको थिएन, करीव दुई सय वर्षपछि यसको नाम नेपालसम्वत रहन गयो जुन यद्यपि प्रचलनमा नै छ ।
अब प्रश्न उठ्छ, शंखधर साख्वाः को थिए त ? शंखधर र राघवदेव दुई अगलअलग व्यक्ति नभएर एकै व्यक्तिका दुई नाउँ भन्ने बुझिन्छ । यी दुवै नाउँको अर्थ पनि उही देखिन आउँछ । राघव नारायणका प्रतीक भएको र त्यसले शंख धारण गर्ने हुँदा शंखधर भनियो र साख्वाः उनको थर भएकाले राघवदेवलाई नै अर्को नाम शंखधर साख्वाः भनिएको हो । तर राघवदेव वा शंखधरको राज्यकालपछि कति वर्षसम्म र कसरी नेपालमा गणतन्त्र नै कायम भयो भन्नेबारेमा जानकारी पाइँदैन । गणतन्त्र पनि पुनः कमजोर हुँदै गएको अनुमान हुन्छ । इतिहास पुनः अलि अलि स्पष्ट भएर आएको बेला यहाँ राजतन्त्रात्मक राज्यव्यवस्था त देखिन्छ तर देवधारी र मल्लधारी दुई खलकले पालो पालो गरी शासन गर्दथे । यो देवधारी र मल्लधारीहरुको शासन व्यवस्था जयस्थिति मल्लको उदयसँगै बिलाएर मल्लहरूको एकछत्र राजतन्त्र स्थापना भएको थियो ।

Saturday, June 2, 2012

नेवार भूमिका रूपमा नेपाल मण्डल क्षेत्र

  • काशीनाथ तमोट
‘नेपाल’ शब्दले तीन वटा भौगालिक क्षेत्रलाई बुझाउ“छ । ती हुन् नेपाल गर्त – (स्वनिगः, नेपाल खाल्डो, नेपाल उपत्यका वा बृहत्तर काठमाडौं), नेपाल मण्डल (मध्यमाञ्चल विकास क्षेत्रका पहाडी प्रदेश) र नेपाल अधिराज्य (पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको भूभाग) ।


यहा“ नेपाल मण्डलमा नेपाल अधिराज्यका ७५ जिल्लामध्ये १२ जिल्लाबारे विवेचना गरिन्छ । नेपाल मण्डलका १२ जिल्लालाई तीन समूहमा विभाजित गर्न सकिन्छ । जस्तै– केन्द्रीय जिल्ला तीनवटा (काठमाडौं, ललितपुर र भक्तपुर), मध्य जिल्ला चारवटा (काभ्रेपलाञ्चोक, मकवानपुर, नुवाकोट र सिन्धुपाल्चोक), बाहिरी जिल्ला पा“चवटा – ( धादिङ, रसुवा, दोलखा, रामेछाप र सिन्धुली)
नेपालको प्राचीन इतिहास (वर्मा र लिच्छवी) कालमा नेपाल मण्डल एक स्वतन्त्र राज्य थियो । (तात्कालीन श्री ५ को सरकारद्वारा गठित) इतिहास संशोधन मण्डलका इतिहासकारहरूले त्यो (नेपाल मण्डल वर्तमान) नेपाल अधिराज्य जतिकै ठूलो थियो भनी भन्दै आएका छन् ।
मल्लकालमा नेपाल मण्डलमा चारवटा स्वशासित राज्यको उदय भयो र ती चार स्वशासित राज्यहरू मिली नेपाल मण्डल संयुक्त राज्य ९ग्लष्तभम क्तबतभक या ल्भउब िःबलमब०ि बन्यो । यसरी विकसित स्वशासित स्वतन्त्र राज्यहरू हुन्– कान्तिपुर, ललितपुर, भक्तपुर र दोलखा । मल्लकालमा यी चारवटा राज्यले चर्चेको भौगोलिक क्षेत्र नेपाल मण्डल हो । त्यसलाई पृथ्वीनारायण शाहले २६ वर्षमा (२६ वर्षसम्म लडाइ“ गरी) जितेपश्चात त्यस क्षेत्रलाई प्रारम्भिक शाहकालमा ‘सदर उपत्यका’ भित्र पारियो । त्यसभन्दा बाहिर परेको क्षेत्र ‘मोफसल’ भयो । राणाकालमा नेपाललाई ३६ जिल्लामा विभाजित गर्दा नेपाल मण्डल क्षेत्रभित्र
 (१) सदर उपत्यका
 (२) मोफसल (पहाडी जिल्ला– पूर्व १ र २ नं, पश्चिम १ र २ नं), र 
(३) भित्री मधेस (सिन्धुली, चिसापानी, मकवानपुर) भयो । पञ्चायतकालमा १४ अञ्चल ७५ जिल्लामा विभाजित गरेपश्चात त्यसमा ३ अञ्चल र १२ जिल्ला प¥यो ।
ईस्वीपूर्व दुई हजार वर्षदेखि काठमाडौं उपत्यकामा उत्तर भोटबाट हिमाल पार गरी मानिस बस्न आउने गरे । पूर्वोत्तर भारतबाट पनि भोट–वर्मेलीभाषी मानिस आए । ईस्वीको आसपास दक्षिणबाट उत्तर भारतबाट र पश्चिम तराईबाट मानिसले बसाइ“ सरे (बसाइ“ सरेर आए) । ईस्वीपछि पन्जाब कास्मीरबाट पनि मानिस आए । यसप्रकार चारैतिरबाट मानिस बाहिरी जिल्ला, मध्यजिल्ला हु“दै केन्द्र जिल्ला (काठमाडौं उपत्यका) मा बस्न आए । यिनीहरू सबै मिसिएर पृथक भा“डो ९ःभतिष्लन एयत० को रूपमा नेवार सभ्यताको उदय भयो, जुन उत्तरको पनि होइन, दक्षिणको पनि होइन । वर्मा (१–४ शदि) – लिच्छवी (५–९ शदि) कालमा नेवार कालको उदय भयो । दसौ“ शदिदेखि स्थानीय ‘नेपाल लिपि’ को प्रादुर्भाव भयो । हिमालपारिको भाषा र संस्कृत–प्राकृत भाषा मिलाएर एघारौ“ शदिदेखि ‘नेपाल भाषा’ को जन्म भयो । ईस्वीको पहिलो सहस्राब्दीमा पृथकपृथक संस्कृति अपनाइ“दै आइरहेकोमा दोस्रो सहस्राब्दीदेखि ‘नेपाल संस्कृति’ को लक्षण प्रादुर्भाव भयो । मल्लकालको अन्त्य अठारौ“ शदिसम्म नेवार सभ्यताको स्पष्ट पहिचान भयो । आजको नेवार सभ्यता त्यसैको निरन्तरता हो ।
नेपाल मण्डलमा लिच्छवी कालको भोटस“गको सम्बन्धका कारण, खासगरी आठौ“ शताब्दीमा राजा नरेन्द्रदेवले भोटे सेना भिœयाएपछि नेपालको सिमानास“ग जोडिएको प्रान्त चाङ प्रदेशका तामाङको (नेपालमा) बसाइ“सराइ भयो । चाङमीहरूलाई नेवारहरूले संज (संय्) भन्ने गरे । यिनीहरू तामाङ हुन् । बन्द व्यापार र खेतिपातीका क्रममा नेपाल मण्डल आएका संज (चाङमी) हरूको संख्या १३–१४ सय वर्षभित्र नेवारभन्दा अधिक भयो । १२–१३ शदिदेखि पश्चिमबाट खसहरू र दक्षिणबाट डोय् (कर्नाटकका) मानिस नेपाल मण्डलमा बस्न आए । सात–आठ सय वर्षभित्र यिनीहरूको संख्या पनि तीव्र रूपमा बढ्यो । यसप्रकार नेपाल मण्डलका मूल जाति नेवार अल्पसंख्यक हु“दैगएको देखिन्छ । नेपाल मण्डलको सभ्यताका बाहक नेपाल भाषाभाषीहरूको चेतना जाग्यो भने यहा“को सभ्यताको संरक्षण गर्न नसकिने होइन । सम्झनुपर्ने कुरा के हो भने नेवार सभ्यता भनेको उत्तर र दक्षिण एसियाली सभ्यताहरूको समिश्रणबाट बनेको विशिष्ट सभ्यता हो ।
पहिलो सहस्राब्दीमा नेपाल मण्डलको सामाजिक संगठनको जगमा आप्mनो विशिष्ट सभ्यता उदय भएपछि ने.सं. ५५० तिर नेपाल मण्डलको धार्मिक भूगोल ‘नेपाल महात्म्य’ बन्यो । यसले नेपाल मण्डललाई एउटा धार्मिक क्षेत्रको रूप दियो । यसले एउटा भौगोलिक सिमाना तोक्यो । यसपछि त्यसलाई हिमवतखण्डमा समावेश गरियो । पशुपति पुराण आप्mनै तरिकाले विकसित भयो । पशुपतिलाई केन्द्र मानी ने.सं. ७०० तिर नेपाल मण्डलमा ६४ शिलिङ्ग यात्रा गर्ने परम्परा बसालियो । गुहेश्वरीलाई केन्द्र मानी तीनवटा मण्डल अथवा आवरणको २४ पीठको ‘नेपाल मण्डलपीठ’ को जन्म भयो ।
उता बौद्ध नेवारहरूले ने.सं. ६०० तिर स्वयम्भू पुराण बनाए । यो नेपाल मण्डलको बौद्ध भूगोल हो । यसमा अष्ट वीतराग, द्वादस तीर्थ, सप्तबुद्धस्थानलाई स्थानीयकरण ग-यो । ने.सं. ८०० को अन्त्यतिर बौद्ध बज्राचार्यहरूले चक्रशंकरादि ग्रन्थमा उल्लिखित २४ शारीरिक न्यासलाई वंघः कान्तिपुर क्षेत्रपाललाई केन्द्र मानी नेपाल मण्डलभित्र २४ पीठ भएको परिकल्पना गरी पीठ सेवा जाने परम्परा बसाले । यसप्रकार नेपाल मण्डल एउटा एकीकृत प्रदेशका रूपमा विकसित भयो । यसको संवाहक नेवारहरू हुन् । दुई हजार वर्षदेखि यो क्षेत्र नेवार क्षेत्र हो ।

यौनवादी कथा लेख्दा विध्वंशकारी लेखक भनियो


(साहित्यकार केदार सितुसँग नेवाः टाइम्सले गरेको सम्वाद)

साहित्य क्षेत्रमा अहिले तपाईको गतिविधि कस्तो चलिरहेको छ ?
भर्खरै एउटा उपन्यास ‘तथागत’ तयार पारेको छु । सम्पूर्ण काम सिध्याएर प्रकाशकलाई पनि दिई सकेको छु । डिसेम्वरसम्ममा बजारमा आउँछ होला । यही बेला एउटा कथा सँग्रह पनि निकाल्ने विचारले त्यसमा काम गरिरहेको छु ।
तथागतमा के कुरा समेट्न खोज्नु भएको हो ?
भगवान बुद्धले बुद्धत्व प्राप्त गरेको कुरा भनिन्छ, यो बुद्धत्व भनेको के हो ? चेतनाको स्तर मात्रै हो कि अथवा अलौकिक अवस्था नै हो भन्ने मुद्दालाई यस उपन्यासमा उठाउन खोजेको हो । बुद्धत्वको अवस्थामा हामी सामान्य मानिस पनि पुग्न सक्छौंं । यो त चेतनाका तह मात्रै हो । हठयोग जस्ता कठिन साधनाहरुको जरुरत छैन भन्ने कुरा देखाउन खोजेको हो ।
तपाई“ले यस अघि ‘धकं धयाव…..’ यौनवादी कथासंग्रह निकाल्नु भयो । यौनवादी साहित्यमा तपाईको लेखनले निरन्तरता पाएन नि ?
त्यति बेला फ्राइडवादको धार पपुलर भइराखेको थियो । तर नेपालभाषा साहित्यमा यसको अभाव थियो । यही अभावपूर्तिका लागि मैले पनि यौनवादी साहित्य लेखनमा हात हालेको थिएँ । तर अहिले फ्राइडको सिद्धान्त पुरानो भइसक्यो । कतिपय सिद्धान्तहरु गलत साबित पनि भइसकेको छ । फ्रायदवादलाई त्याग्नु पर्ने अवस्थामा पुनः यौनवादी साहित्य लेखिराख्नु अब आवश्यक छैन ।
यौनवादी साहित्यको विकास गर्न ‘धकं धयाव…’ को प्रकाशन पछि कस्तो प्रतिक्रिया पाउनु भयो ?
मैले त्यो कथा संग्रह निकाल्दा नेपालभाषा साहित्य क्षेत्रमा प्रगतिशील साहित्यले जरा गाडेको अवस्था थियो । तिनीहरुले मलाई विध्वंशकारी लेखक नै पनि भने । तिनीहरुका अनुृसार नेपालभाषाको साहित्य सत्यम्, शिवम र सुन्दरम् झै हुनु पर्ने, पवित्र नै राख्नु पर्ने मान्यता थियो । खुल्ला रुपमा प्रतिक्रिया आएन, जति आयो, गाली मात्रै आयो । तर व्यक्तिगत रुपमा प्रशंसा गर्नेहरु पनि थिए ।
अझ स्पष्ट हुन चाहन्छु, तपाईले ‘तथागत’ देखाउन चाहनु भएको कुरा के हो ?
यो उपन्यासमा एक्काइसौं शताब्दीको बुद्ध देखाउन खोजको हुँ । गौतम बुद्धले जस्तो कठोर साधना गरिराख्न आजको मान्छेलाई समय नै छैन । उसको जस्तो जीवनस्तर पनि आज हामीसँग छैन । तर बुद्धले गरेका अनुभूतिहरु हामी सर्वसाधारणले पनि गरिराखेका छौं । त्यसकारण आजभोलि पनि बुद्धत्व प्राप्तीको संभावना छ । यसमा एउटा पात्रलाई विभिन्न मान्छेहरुको प्रतिनिधि पात्र बनाएको छु ।
तपाई नेपालभाषामा मात्रै लेख्नु हुन्छ, नेपालीमा किन लेख्नु हुन्न ?
म नेपाली भाषामा लेख्न नसक्ने लेखक होइन । तर राज्यको विभेदकारी भाषानीतिका कारण नेपालीभाषामा नलेखेको मात्रै हुँ ।
राज्यको भाषा नीति सुधारियो भने नेपालीमा पनि लेख्नु हुन्छ ?
अवश्य लेख्छु । अंग्रेजीमा लेख्नुभन्दा आफ्नै देशमा भएको एउटा भाषाबाट लेख्दा के बिग्रन्छ र ?
अनुवादको मामिलामा के भन्नु हुन्छ ?
मेरा सिर्जनाहरु नेपालीभाषामा अनुवाद भएका छन् । कथाहरु विभिन्न साहित्यिक पत्रपत्रिकाहरुमा प्रकाशित हुन्छन् । ‘स्वम्हम्ह मनू’ (तेस्रो मान्छे) अनुवाद भई समकालिन साहित्यमा प्रकाशित भएको छ ।
‘तथागत’ नि ?
तथागत’को अनुवादको कुरा भइरहेको छ ।

Blog is created from today.

Blog is created from today.