Saturday, June 2, 2012

यौनवादी कथा लेख्दा विध्वंशकारी लेखक भनियो


(साहित्यकार केदार सितुसँग नेवाः टाइम्सले गरेको सम्वाद)

साहित्य क्षेत्रमा अहिले तपाईको गतिविधि कस्तो चलिरहेको छ ?
भर्खरै एउटा उपन्यास ‘तथागत’ तयार पारेको छु । सम्पूर्ण काम सिध्याएर प्रकाशकलाई पनि दिई सकेको छु । डिसेम्वरसम्ममा बजारमा आउँछ होला । यही बेला एउटा कथा सँग्रह पनि निकाल्ने विचारले त्यसमा काम गरिरहेको छु ।
तथागतमा के कुरा समेट्न खोज्नु भएको हो ?
भगवान बुद्धले बुद्धत्व प्राप्त गरेको कुरा भनिन्छ, यो बुद्धत्व भनेको के हो ? चेतनाको स्तर मात्रै हो कि अथवा अलौकिक अवस्था नै हो भन्ने मुद्दालाई यस उपन्यासमा उठाउन खोजेको हो । बुद्धत्वको अवस्थामा हामी सामान्य मानिस पनि पुग्न सक्छौंं । यो त चेतनाका तह मात्रै हो । हठयोग जस्ता कठिन साधनाहरुको जरुरत छैन भन्ने कुरा देखाउन खोजेको हो ।
तपाई“ले यस अघि ‘धकं धयाव…..’ यौनवादी कथासंग्रह निकाल्नु भयो । यौनवादी साहित्यमा तपाईको लेखनले निरन्तरता पाएन नि ?
त्यति बेला फ्राइडवादको धार पपुलर भइराखेको थियो । तर नेपालभाषा साहित्यमा यसको अभाव थियो । यही अभावपूर्तिका लागि मैले पनि यौनवादी साहित्य लेखनमा हात हालेको थिएँ । तर अहिले फ्राइडको सिद्धान्त पुरानो भइसक्यो । कतिपय सिद्धान्तहरु गलत साबित पनि भइसकेको छ । फ्रायदवादलाई त्याग्नु पर्ने अवस्थामा पुनः यौनवादी साहित्य लेखिराख्नु अब आवश्यक छैन ।
यौनवादी साहित्यको विकास गर्न ‘धकं धयाव…’ को प्रकाशन पछि कस्तो प्रतिक्रिया पाउनु भयो ?
मैले त्यो कथा संग्रह निकाल्दा नेपालभाषा साहित्य क्षेत्रमा प्रगतिशील साहित्यले जरा गाडेको अवस्था थियो । तिनीहरुले मलाई विध्वंशकारी लेखक नै पनि भने । तिनीहरुका अनुृसार नेपालभाषाको साहित्य सत्यम्, शिवम र सुन्दरम् झै हुनु पर्ने, पवित्र नै राख्नु पर्ने मान्यता थियो । खुल्ला रुपमा प्रतिक्रिया आएन, जति आयो, गाली मात्रै आयो । तर व्यक्तिगत रुपमा प्रशंसा गर्नेहरु पनि थिए ।
अझ स्पष्ट हुन चाहन्छु, तपाईले ‘तथागत’ देखाउन चाहनु भएको कुरा के हो ?
यो उपन्यासमा एक्काइसौं शताब्दीको बुद्ध देखाउन खोजको हुँ । गौतम बुद्धले जस्तो कठोर साधना गरिराख्न आजको मान्छेलाई समय नै छैन । उसको जस्तो जीवनस्तर पनि आज हामीसँग छैन । तर बुद्धले गरेका अनुभूतिहरु हामी सर्वसाधारणले पनि गरिराखेका छौं । त्यसकारण आजभोलि पनि बुद्धत्व प्राप्तीको संभावना छ । यसमा एउटा पात्रलाई विभिन्न मान्छेहरुको प्रतिनिधि पात्र बनाएको छु ।
तपाई नेपालभाषामा मात्रै लेख्नु हुन्छ, नेपालीमा किन लेख्नु हुन्न ?
म नेपाली भाषामा लेख्न नसक्ने लेखक होइन । तर राज्यको विभेदकारी भाषानीतिका कारण नेपालीभाषामा नलेखेको मात्रै हुँ ।
राज्यको भाषा नीति सुधारियो भने नेपालीमा पनि लेख्नु हुन्छ ?
अवश्य लेख्छु । अंग्रेजीमा लेख्नुभन्दा आफ्नै देशमा भएको एउटा भाषाबाट लेख्दा के बिग्रन्छ र ?
अनुवादको मामिलामा के भन्नु हुन्छ ?
मेरा सिर्जनाहरु नेपालीभाषामा अनुवाद भएका छन् । कथाहरु विभिन्न साहित्यिक पत्रपत्रिकाहरुमा प्रकाशित हुन्छन् । ‘स्वम्हम्ह मनू’ (तेस्रो मान्छे) अनुवाद भई समकालिन साहित्यमा प्रकाशित भएको छ ।
‘तथागत’ नि ?
तथागत’को अनुवादको कुरा भइरहेको छ ।

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.